देउसी-भैलो (साँस्कृतिक गीत)-२०५१

May 12, 2016



                  तिहारको गरिमामय सांकृतिक महत्व

 

भुवन थापा ‘बहुवि’ 

                                                                       

देउसी-भैलो भन्ने बित्तिकै हामी तिहारलार्इ संझन्छौं । तिहार नेपालीहरूको सामाजिक, धार्मिक र सांस्कृतिक गरिमाको चाड हो । यो चाड कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू भएर कार्तिक शुक्ल व्दितीयासम्म जम्मा पाँच दिन मनाइन्छ । अब यो चाड कसरी मनाइन्छ ? किन मनाइन्छ ?  र यो चाडको कसरी उत्पत्ति भयो ? भन्ने सवालमा बिभिन्न रायहरू छन् तर अझै अनुसन्धान र निर्क्योल नर्न बाँकी नै छ । केही उल्लेखित राय तथा अवधारणाहरूलार्इ उद्घृत गर्नु पर्दाः

(क)   परापूर्व कालमा देव र असुरहरूको संग्राम भयो । संग्राममा दैत्यराज वलिले देवहरूलार्इ हराएर राज्य गरे । पराजित देवहरूका चेलीहरूले वलिराजासित अनुमति लिर्इ देवताहरूको घरमा गर्इ भैलो जगार्इ अशिर्वाद दिए । तसर्थ यसरी अशिर्वाद प्राप्त देवगणहरूले भगवानको साथ पाएर असुरहरूलार्इ तहसनहस पारेर विजयश्री प्राप्त गरे । त्यसैले देउसी-भैलो खेल्दा “वलिराजाले पठाएको” भन्ने चलन अद्यावधि जारी छ ।

(ख)  पौराणिक कथा अनुसार बामन अवतारधारी विष्णुले वलिराजासँग छलकपट गरी तीन पाउ भूमि माग गरे । सो माग पुरा गर्ने वचन वलिले दिए पछि विष्णुले अफ्नो सक्कली रूप धारण गरी अफ्नो तीन पाउले तीनै लोक ढाकिदिए । वलिको विनाश हुने बेलामा विष्णुले उसको अन्तिम र्इच्छा के छ भनी सोधनी गर्दा “यमपंचकको दिन जुन घरमा दीपावली गरिन्छ, यो घर सदा लक्ष्मीले बास गरून् ” भन्ने वरदान वलिले मागे । यसै लोक विश्वासले गर्दा देउसीभैलो गाउनेहरूको गीतमा वलिराजाको प्रसंग अएको भनिन्छ ।

(ग)   १५ औं शताव्दीको मध्य (वि.सं. १४५०-६०) तिर जुम्लाका पहिला खसराज वलिराज भएका थिए । यिनीबाट “जागत” को रूपमा  देउसी-भैलो चलाएको हो । कर्णाली प्रदेशको तत्कालीन प्रचलन अनुसार देउसी-भैलोको लागि भनी बडाहाकिम कोषमा रकम नै छुट्याइएको र सरकारी निकाय समेत देउसी-भैलोसँग राम्ररी परिचित भएको अनुमान हुन्छ । अनि लोक जीवन चाहिँ यससँग निकटम रूपले सम्बन्घ कल्याल राजसँग भएको कुराकानीमा धेरैको एकमत छ ।

(घ)   इमानसिंह चेम्जोङको  ‘History & Culture of Kirat’ नामक पुस्तक अनुसार किरांतको मुन्धुममा दीपावली सम्बन्धीको एक अंश यस्तो छः कथा प्राचीन नेपालको पश्चिमी भागमा वलिहांग नामका एक मगर राजा थिए । उनी धर्मात्मा र भविष्य ज्ञाता थिए । उनले आफू छिट्टै मर्ने कुरा पहिले नै थाहा पाएका थिए । प्रजाप्रेमी राजा भएको नाताले छिट्टै मृत्यु हुने कुरा सुनेर प्रजा साह्रै चिन्तित् भए । उनीहरूले प्रिय राजालार्इ बचाउने उपाय केही छ कि भनेर राजालार्इ सोध्दा राजाले भने “मंसिर महिनाको शुक्ल पक्षको अन्त्य र कृष्ण पक्षको शुरूवातमा म मर्ने भएकोले त्यस दिन राती मलार्इ लिन यमदूत आउँछ । उ आउँदा सबैले रोर्इ करार्इ बिन्तीभाउ गरी बत्ती बाली मेरो प्राण माग्नु । यदि यसो गर्दा यमदूत खुशी भएमा मलार्इ प्राणदान दिनेछ र बाँच्ने छु ।” यो राजाको कुरा सुनेर सोही दिन राती सबै आ-आफ्ना घरमा बत्ती बाली नुहार्इ चोखो भर्इ जागा बसे । राजाको भनार्इ अनुसार काम गर्दा यमदूत खुशी भएर वलिहांग राजालार्इ प्राणदान दिर्इ फिर्ता भए । त्यसै दिनको संझनाको खुशियालीमा प्रजाहरूले घरघरमा बत्ती बानी नाँचगान गर्दै हिँडेका थिए । प्राचीन मगराँती भाषामा “फा-इ-लो”  भनेको “हामीले बचायों ” भनेको र  “देउसी” भनेको  “धर्मात्मा पूजारी ” र  “रे”  भनेको “राजा” हो । कालान्तरमा यो भाषा अपभ्रंश भै  “फा-इ-लो”  को “भैलो” भयो । आजभोलि पनि  देउसी-भैलो खेल्दा वलिराजको नाम लिने गिरन्छ ।  

(ङ)   दशैंको लगत्तै शुरू हुने यो चाडको संबन्ध यमराजसँग देखाइएको छ । यमराज बैदिक देव थिए । ऋग्वेद र अथर्व वेदमा यमराज सम्बन्धी अनेकन विवरणहरू पाइन्छन् । यसबाट ऋग्वैदिक कालमै यमराजको पूजा गर्ने परम्परा शुरू भएको संकेत पाइन्छ । यमराज रिसाए कसैलार्इ बाँच्न दिँदैन भन्ने जन धारणा हुनाले उनी नरिसाउन् भनी  उनको सम्मानमा घर सफा सुग्घर बनार्इ दीपावली गरी पूजा आजा गरिन्छ । यसरी यमराजसँग सम्बन्धित भएको कारणले तिहारको पाँच दिनलार्इ “यमपञ्चक”  पनि भन्ने चलन छ । काग र कुकुर यमराजका दूत मानिन्छन् । त्यसैको शुरूमा दुर्इ दिन काग र कुकुरको पूजा गरिन्छ ।

माथिका बिचार तथा अवधारणाहरू जसरी उल्लेखित भए पनि यो चाड हाम्रो लागि विशेष सांस्कृतिक चाड हो । यसलार्इ हामीले परपरादेखि मनाउँदै  अएका छौं । हामी तिहारको प्रथम दिन कागको पूजा गर्छौं सो दिनलार्इ काग तिहार भनिन्छ । दोस्रो दिन कुकुरको पूजा गर्छौं सो दिनलार्इ कुकुर तिहार भनिन्छ । तेस्रो दिन औंसिको दिनलार्इ विशेष दिन अर्थात गार्इ तिहारको दिन मानेर यस दिन लक्ष्मीको पूजा गरिन्छ । औंसिको अँध्यारोलार्इ दीपावलीले झिलिमिली पारिन्छ । यसै दिनदेखि भैलो खेलिन्छ । विशेष गरी भैलो चेलीबेटीहरूले खेल्ने चलन भए पनि अजकल युवायुवती बुढाबुढी केटाकेटी सबै मिलेर खेली रमाइलो गर्ने चलन छ । यसरी देउसी-भैलो खेल्दा गाउँमा “सह” रहन्छ, राम्रो हुन्छ भन्ने धारणा पनि छ ।

 अघि कुनै समयमा अंशियाराको धन जमिन र पत्नी समेत जुवाको दाउमा राख्ने चलन थियो । त्यसबेला चेलीबेटीहरूले आफ्ना संगिनीहरूकासाथ यसरी घरघर दैलोदैलो पुगेर भैली गीत गाउने नाच्ने र दान माग्ने चलन छः

हाम्रा खालमा गैराचन् ।

जुवा खेल्न आर्इराचन् ।।

ल्याउँछन् चङ्खु भरेर ।

गार्इ तिहारको “भैली” ।।१।।

 

खाल्मा हाम्रा गैराचन् ।

मलार्इ थाप्न्या भैराचन् ।।

चिहिल् बिहिल् पार्चन् कि ।

गार्इ तिहारको “भैली” ।।२।।

 

खाल्मा हाम्रा गैराचन् ।

जुवा जित्ने भैराचन् ।।

गहना ल्यार्इ दिन्छन् कि ।

गार्इ तिहारको “भैली” ।।३।।

 

खाल्मा हाम्रा गैराचन् ।

घर खेत फाल्लान् कि ।।

धन जिती हाल्लान् कि ।

गार्इ तिहारको “भैली” ।।४।।

 

खाल्मा हाम्रा गैराचन् ।

टीका थाप्न आउँलान् कि ।।

सर्जाम किनी ल्याउलान् कि ।।

गार्इ तिहारको “भैली” ।।५।।

 

सबै मिली यसरी पनि भैलो गाउने चलन छः

 

भैलेनी आए आँगन

बढारी कुढारी राखन

हो... औंसिको दिन

गार्इ तिहार हो, भैलो ।

 

लक्ष्मी पूजा पूजन

हरियो गोबरले लिपन

गार्इ तिहार हो, भैलो ।

हामी त्यसै आएका होर्इनों

वलि राजाले पठाको

औंसिको दिन.......

गार्इ तिहार हो, भैलो ।।

 

यसैगरी चोथो दिन गोरू तिहार भनिन्छ । त्यस दिन गोरूको पूजा हुन्छ । त्यस दिनमा पनि भैलो खेलिंदै रहन्छ । अब पाँचौं दिन अर्थात भार्इ तिहारको दिन, विशेष महत्वको दिन, भार्इ बहिनी भेट हुने दिन । जुन दिनमा दिदीबहिनीले दियो-कलश, अक्षता-चन्दन, पञ्च-पात्र, अखर, बिमिरो, दही, विविध रंगका टीकाहरू र रंगीचंगी मालाहरूको साथ भार्इलार्इ टीका लगार्इ दिने फूलमाला पहिरार्इ दिने अनि भार्इहरूको शत्रु नाश होउन् भनेर संघारमा ओखर फुटाउने अनि दाजुभार्इलार्इ खुवाएर आफू खाने  चलन छ । यसरी दिदी बहिनीहरूबाट प्राप्त अशिर्वादले विजयश्री प्राप्त यो महान दिन टीका र माला पहिरेर घर दैलो देउसी खेल्ने चलन छ । देउसी गीत यसरी गाइन्छः

झिलिमिली झिलिमिली  -देउसरे

केको झिलिमिली          -देउसरे

बत्तीको झिलिमिली      -देउसरे

फूलको झिलिमिली      -देउसरे

रातो माटो                -देउसरे

चिप्लो बाटो              -देउसरे

वलिराजाको             -देउसरे

हुकुम हुँदा                -देउसरे

लड्दै पड्दै                -देउसरे

वर्षै दिनको               -देउसरे

तिहु तिहारैमा           -देउसरे

ऋतु जनाउन            -देउसरे

हामी आफै                 -देउसरे

आएका हैनौं               -देउसरे

........................................

देशका बिभिन्न भागमा देउसी खेल्दाः “देउसरे”, कतै “देउसरी”, कतै  “देउसिरे” र कतै  “देउ श्रीराम” पनि भन्ने चलन छ ।

यसरी नै देउसी-भैलो खेलिन्छ ।  घरभित्रबाट अना पैरा माना चामल, रोटी, दही फूल इत्यादि नाङ्लो (सुपो) मा बत्ती बालेर दान दिए पछि यसरी भैलेरीले आशिष् दिने चलन छः

आशिक दिउँ दिउँ

यसै घरकी महातारीले

ढुंगा छुँदा द्रव्य हउन्

माटो छुँदा अन्नै हउन्

पातै छँदा पिताम्वर हउन्

 

यसै घरका.........

लालाबाला, बुढापाका

केरा जस्तै गाँजी रहून्

दुबो जस्तै मौली रहून्

वर पिपल जस्तै तपी रहून्

 

यसै घरका............

परेवा पन्छी उड्दा क्यारे

सूर्जे ढाकून्

गार्इ बस्तु छोड्दा क्यारे

बनै ढाकून्

 

यसै घरका........

मधेशैको लत्ताकपडा

घरै भरी होर्इ रहून्

भोटको नून लासाको सुन

भँडारै भरी होर्इ रहून्

 

यसै घरको........

दुःख पीर, रोग शोक

गंगाजीले बगार्इ लगून्

उँभोतिर हिमचूली

बतासैले उडार्इ लगून्

 

हे मेरी आमै, हे मेरा बाबै

लेकको माने, अलको काने

आजका देउसरेले आशिक दिन

यत्तिकै जाने ।

 

यसैगरी परम्परागत रूपबाट घर दैलो देउसी-भैलो खेलिंदै आइरहेको छ भने आजभोलि नयाँ ढंगबाट नौंला नौंला तौरतरिकाबाट देउसी-भैलो खेल्ने चलन छ । जस अनुसार आजभोलि घर दैलो जानुको साटो घरटोलको बीचमा एउटा घर छानेर अर्थात त्यहाँका विशिष्ट व्यक्तिको घरमा गएर देउसी-भैलो फलाक्ने, गीत गाउने नाँच्ने र आखिर सूचित घरघरबाट त्यही जम्मा भै दान दक्षिणा ल्याइदिए पछि आशिष दिएर अर्को टोलमा जाने चलन आएको छ ।  यस चलनबाट रोचक र छरिटोपना सिर्जना भएको छ । यसरी देउसी-भैलो खेल्दा आजभोलि कुनै संघसंस्था तथा क्लवको नामबाट खेल्ने चलन पनि छ । यसरी संकलित पैसाबाट वनभोज खाने, सामाजिक कोष जम्मा गर्ने, सामाजिक संस्थाहरूलार्इ आर्थिक सहयोग जुटाउने जस्ता सामाजिक हितका कुराहरू पूर्ति गर्ने चलन पनि छ । यसरी देउसी-भैली खेली सार्वजनिक सेवाको निम्ति पैसा संकलन गर्नु साह्रै उपयुक्त कुरा हो ।

यो तिहार चाड देउसी-भैलो मात्र नभर्इ यसको विशेषता “जुवा” सँग पनि छ । कोही पुरै तिहार तास जुवा खेलेरै बिताउँछन् । तिहारको जुवाबाट बुङ्गा भएका घटनाहरू पनि सुन्नमा आउँछन् । उहिले राणा पूर्व जुवाको खालमा स्वास्नी छोराछोरी समेत थाप्ने चलन थियो भन्ने कुरा माथि कै गीतहरूबाट अवगत भैसकेको छ  । महाभारतको कथामा पाण्डवहरूले द्रोपदीलार्इ नै पारेको कुराबाट हामी अवगतै छ । जुवा खेल्नु तिहारको उद्देश्य अनुरूप कुरा हैन । जुवाले धेरै मानिसलार्इ सर्वस्व गुमाएर उठीबास हुने घटना प्रायः देखिइरहन्छन् । तसर्थ मनोरञ्जनको नाममा तिहारमा तास जुवा खेल्ने चलन पूर्णरूपमा नियन्त्रण गरी तिहार चाडको सांस्कृतिक रीतिलार्इ जगेर्ना गर्नु र कुरीतिहरूलार्इ मिल्क्याउनु आजको दायित्व हुन आउँछ ।

परिवर्तित युगको अधारमा यो तिहारको गरिमामय संस्कृतिलार्इ जोगार्इ राख्न परम्परागत रूपमा चलिआएको उही मीठो गीतलार्इ पृष्ठभूमिमा राखेर आजको विसंगतिपूर्ण समाजको चित्रण गरी त्यसै अनुरूपको देउसी-भैलो गीतहरू लेखेर समस्त संस्कृति प्रेमी महानुभावहरू साम्ने प्रस्तुत गरेको छु । धन्यवाद !

 

साउन ८ गते, २०५१           

                                                                                                                                                         

 

 

 

 

 

 देउसी-भैलो (दीपावली)-२०५१

 

 

 


 

 













You Might Also Like

0 comments