तलाम (कथा)
May 03, 2016
तलाम
![]() |
| डिजाईन: पल येदेन शेर्पा |
पहिलो दृश्य
# उपत्यकाको एक पूरानो बस्ती,
बिहानको पाहारिलो घाम, आफ्नो जिर्ण घरको पिढीमा एक महिला आफ्नो चोलीको टुना खोलेर आफ्नो छ सात महिनाको छोरालाई दुध चुसाई रहेको अवस्था । न्यानो काने टोपी र
ढाकाको भोटो लगाएको बच्चाको गालामा नीलो चिनु प्रष्ट ।
# संकतकालको समय, घरको
भित्ताहरूमा जिन्दावाद मूर्दावाद लेखिएका, नेपाली सेनाको गस्ती टोली बस्ती बस्ती
खटिने क्रममा त्यसै घरको आँगनमा जम्मा, समूह विभाजन गरी विभिन्न टोल बस्तीतिर
लाग्ने तयारी, यसै क्रममा सेनाका जवानहरू कमाण्डर साम्ने बुट बजार्दै सलाम ठोक्दै आआफ्नो गन्तब्य तर्फ लाग्दै गरेको दृश्य ।
# सेनाको यस्तो गतिबिधि आमाको
काखमा रहेको बच्चाले दुध चुस्न छाडेर एकोहोरो पाराले हेरिरहेको अवस्था ।
# सेनाको गस्ती टोली बिस्तारै
बिलीन ।
# ती महिलाको हाउभाउमा डर
मिश्रित मुद्रा, काखको बच्चा दुध चुस्दा चुस्दै निद्रामा, निदाएको बच्चालाई कोक्रोमा सुताएर आफू कोदालो बोकेर बारीतिर लाग्दै ।
दोश्रो दृश्य
(त्यस अबोध बच्चाको अवचेतन मस्तिष्कमा जादूमय रूपमा परेको नेपाली सेनाको छाप
अनि त्यसैको बिकसित चित्रण)
बाल्यवस्थाको चित्रणः
गालामा नीलो चिनु भएको दुई तीनलाई वर्षको बालक आफू सरहका अन्य साथीहरूसँग
भाँडाकुटी खेल्दै गरेको दृश्य । भाँडाकुटी खेल्ने क्रममा आफू भन्दा सानो साथी लडेर
रून थाल्दै गर्दा उ गएर उठाउँदै "नलोउ ल अब हामी घल जाने है" भन्दै समातेर धुलो
टक्टकाउँदै अघि बढेको कारूणिक दृश्य ।
सानो बजारको दृश्यः
एक दिन कमल पराजुली गरेको उक्त बालक आफ्नी आमासँग नजिकको बजार घुम्दै
गर्दा-
कमलः (पसलमा बेच्न झुन्याएको बच्चाका लुगाहरू बीच टाटेपाटे (कमब्याट) शर्ट
पाइन्टलाई देखाउँदैः "मम्मी उः त्यो किनिदिनुस्न !"
आमाः (पसले तिर हेर्दै उक्त लुगालाई देखाएर) "साहु जी यसको पैसा कति ?"
पसलेः (यसको सेट जुत्ता र क्याप पनि झिक्दै) "ई यसको सेट जुत्ता र
क्याप पनि छ ।"
आमाः "ए हुन्छ नि" (भन्दै जुत्ता र क्याप हातमा लिएर उक्त जुत्तालाई कमलको खुट्टामा दाँज्छ ।)
कमलः "मम्मी मोजा पनि किनिदिनुस्
है" भन्छ ।
आमा पसलेसँग भाउताउ गरेर छोराको पूरानो लुगा खोलिदिएर नयाँ लुगा लगाई दिन
थाल्छिन् । पूरोनो लुगाहरू झोलामा राखी पसलेलाई पैसा तिरेर घरतिर फर्कन्छन् ।
# कमल नयाँ लुगा लगाएर खुशी
हुँदै आमाको अघि अघि हिड्छ । घर आइपुग्ने बेलामा खुट्टा खोच्याउँदै हिड्ने (मैलो
लुगा, काला दाह्री जुँघा, हमेशा हातमा एफएम रेडियो लिएर हिडिरहने अन्दाजी ३०-३५ वर्षको) सन्ते भन्ने
युवाले आफ्नो छिमिकी बच्चाले टाटेपाटे लुगा लगाएर आएको देख्ने बित्तिकै "ए कमलबाबु सलाम !" भन्दै आफ्नो हात मुठ्ठी कसेर माथि
उठाउँछ । आमा आफ्नो छोरालाई "ल बाबु अंकललाई सलाम गरिदेउ" भन्दै छोराको हात समातेर
उसकै निधारमा राखिदिन्छिन् ।
कमल नफाटुन्जेल त्यही लुगा लगाई रहन्छ । अर्को अर्को दिन सन्तेलाई देख्ने
बित्तिकै "तलाम अंकल !" भन्दै दाहिने हात निधारमा लैजाने कमललाई बानी परिसकेको हुन्छ ।
तेस्रो दृश्य
स्कूले जीवनः
कमल ५ वर्षको हुन्छ । आमा छोरालाई नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिएकी हुन्छिन् । स्कूलको वातावरण सामान्य खालको हुन्छ । स्कूले बच्चाहरूको चहलपहल,
शिक्षक शिक्षिकाहरू यताउता गरिरहेका, घण्टी लागे पछि सबै आ-आफ्नो कक्षातिर लाग्छन् ।
कक्षाको दृश्य, गुरू आमा कमललाई संकेत गर्दै ल तिमी उठेर पढाउ भन्दै लठ्ठी
कमलको हातमा दिन्छिन् । कमल उठेर कालो पाटीमा चकले लेखेको क ख ग लाई लठ्ठीले
देखाउँदै भन्छः
कमलः क बाट कछुवा ।
ख बाट खरायो ।
ग बाट गमला ।
अरू सबै बच्चाहरूले कमलको पछि पछि चिच्याउँछन् ।
दिउँसोको घण्टी बज्छ । बच्चाहरू सबै बाहिर खेल मैदानतिर निस्कन्छन् । सबै आ-आफ्नै ढंगले रमाउँछन् । शिशु/एक कक्षाका भुराहरू
ढिँकीच्याउ खेख्न थाल्छन् । दुबैतिर तीन तीन जना बसेर तल माथि गर्दा बीचको खुड्किलो पुस्केर सबै लड्छन् । सबै रून थाल्छन्,
अन्तै खेल्दै गरेको कमलले त्यो अवस्था देख्छ । तुरून्तै गएर सबैलाई पालैपालो
उठाउँछ । माथिल्लो ओँठमा सानो कोठी भएको करूणा नाम गरेकी केटीको खुट्टामा घाउ भएको
हुन्छ । कमल आफ्नो टोपी झिकेर घाउबाट रगत बग्न नदिन छोपिदिन्छ ।
# सबै केटाकेटीहरू
जम्मा हुन्छन् । गुरू र गुरू आमाहरू पनि आउँछन् । गुरूआमा कमललाई धाप दिँदै "स्याबास !" भन्छिन् । गुरू गुरूआमाहरूले रोई रहेका
बच्चाहरूलाई लिएर जान्छन् ।
# कमल स्कूलबाट
फर्कंदा कहिले काहीँ सन्ते अंकललाई भेट्छ । सन्तेलाई देख्ने बित्तिकै "तलाम अंकल !" भन्ने बानी परिसकेको हुन्छ
।
चौँथो दृश्य
कलेज जीवनः
कक्षा भरी कलेज युनिफर्म लगाएका विद्यार्थीहरू, कक्षाभित्र शिक्षकको प्रवेश
हुन्छ ।
शिक्षकः "गुड मर्निङ एभ्री वान । अब तपाईंहरू एसएलसी पछि ११ कक्षामा प्रवेश गर्दै
हुनुहुन्छ । आज तपाईंहरूले कलास रेप्रेजेन्टिभको रूपमा तपाईंहरू कै बीचबाट एकजना केटा र
एकजना केटीको छनोट गरी नाम प्रस्ताव गर्नु पर्नेछ ।"
बिद्यार्थीहरूः ( एक आपसमा छलफल पश्चात एकै स्वरमा प्रस्ताव गर्छन् ।) "केटाबाट कमल पराजुली,
केटीबाट करूणा मानन्धर......।"
( प्रस्तावित दुबैलाई अगाडि उभ्याएर अबिर जात्रा गर्छन् । सबैले ताली
पिट्छन् ।)
जिम्मेबारीको हिसाबले पनि कमल र करूणा प्राय सँगै रहन्छन् ।
सन्ते देशमा भएको अशान्तिका कारण इण्डिया पलायन हुन्छ ।
# सन्ते झोला बोकेर
गाडी चढ्छ, हात हल्लाउँदै गर्दा गाडी गुड्दै गरेको दृश्य ।
कमलः ( कमलले धेरै दिनसम्म सन्ते अंकललाई नदेखे पछि घरमा आमालाई सोध्छ ।) "मम्मी सन्ते अंकललाई नदेखेको किन ?"
आमाः "बाबु सन्ते अंकल इन्डिया तिर जानु भयो । खै के के .....भएछ
कुन्नी !"
(धेरै साल पछि सन्ते आधा फुलेको कपाल र जुँघा, सफा लुगा, हातमा मोबाइल, पछाडि
नयाँ झोला बोकेर गाउँ फर्कन्छ ।)
# सन्तेले हलक्कै
बढेर युवावस्थामा प्रवेश गरेको कमललाई देख्छ । गालामा भएको नीलो चिनुको कारण
कमललाई सजिलै चिन्छ । सन्तेले कमल सानो छँदा सधैँ "तलाम अंकल !" भनेको संझेर "कमल बाबु तलाम !" भन्छ । कमल लजाउँदै "नमस्ते अंकल !" भन्छ ।
पाचौँ दृश्य
तिहारमा जमदार मामासँगको भेटः
नेपाली सेनाले लाउने ज्याकेट, ढाकाको टोपी लगाएका आधा
फुलेका जुँगा, भ्याट्ट भुडी भएको एकदमै फुर्तिला स्वभावका ब्यक्ति (सेनाका
रिटायर्ड) जमदार कमलको मामा बहिनीको हातको टीका लगाउन कमलको घरमा अएका हुन्छन् ।
टीका लगाई सके पछि खाने क्रममा मामाले भान्ज कमललाई सेनामा भर्ति लगाउने
सल्लाह दिन्छन् ।
(बहिनीले दाजुलाई टीका लगाई दिएको झलक, जमदार दाजु
गुद्रीमा पलेटी कसेर बसेका हुन्छन्, उनको अगाडि थालीमा सेल रोटी, मासु, अचार अनि
गिलासमा रक्सी हुन्छ । कमलकी आमा अगाडि पिर्कामा बसेकी हुन्छिन् । कमल नजिकै
मुढामा बसेर हेरिरहेको हुन्छ ।)
दाजुः 'के छ' भन्ने थेगो प्रयोग गर्दै "के छ अब त भान्जाबाबु हलल्कै बढ्नु भएको छ । के
छ बहिनी भान्जबाबुलाई सेनामा जागिर लगाउनु पर्छ ।"
जमदार कमलतिर
फर्केर "के छ भान्जबाबु तयार हुन परो !"
बहिनीः "हजुरको जे मर्जी
दाजु । जान्ने सुन्ने हजुर हुनुहुन्छ । मलाई त जमदार दाजु जस्तै यसलाई बनाउन
पाए अहो भाग्य हुने थियो ।"
दाजुः कमलतिर फर्कँदै "के छ भान्जबाबु राजी हैन ?"
कमलले सहमतिको टाउको हल्लाउँछ ।
सेनामा भर्ना ( सैनिक तालीम अवधिमा कमल)
·
परेड खेलेको दृश्य
·
डोरीमा झुण्डिएर तल माथि गरेको दृश्य
·
पर्खाल नाघ्दै गरेको दृश्य
·
समय समयमा 'समाल' गरेको दृश्य
·
शुक्रबार साँझमा मादल बजाएर गीत गाउँदै नाच्दै
गरेको दृश्य ।
घरमा छुट्टी अउँदा हरियो
ट्रेकसुट लगाएर आमासँगै बारी कोदालो खनेको दृश्यः
आमाः बारी खन्न छाडेर
कोदालोको बिंदको टुप्पो समाउँदै बाबु तिम्रो जागिर पनि भयो अब तिमीले रोजेको केटी
बिहे गर्नु पर्यो । मलाई पनि घरको काम कुरोमा ठूलो मद्दत पुग्छ ।
कमलः बारी खन्न छाडेर
आमाले भनेको कुरा सुन्दै करूणाले आफू कलेज छोड्ने दिन सँगै बसेर भनेको कुरा
सम्झन्छ । "कमल म तिमीसँग जिन्दगी भरी सँगै बस्न चाहन्छु,
आई लभ यु ! कमल आई लभ यु
!!" भन्दै गह भरी आँशु
लिएर छातीमा टाँसिएर भनेको कुरा कमलको अँखा अगाडि नाच्दछ ।
अन्तिम दृश्य
# देशमा बिनाशकारी भूकम्पले तहसनहस पारेको अवस्था
। कमल पराजुलीको नेतृत्वमा नेपाली सेनाका एक टोली उद्दार कार्यमा खटिन्छन् ।
उद्दार कार्यमा खटिने क्रममा संयोगवशः करूणाको नेतृत्वमा युवा महिला स्यवंसेवी
दस्ता पनि एउटै स्थानमा पुगेका हुन्छन् ।
# बस्ती भग्नावशेषमा परिणत, गाउँ बस्तीमा
मानिसहरूको भीडभाड, भीड बीचमा एक महिला भाव विव्हल मुद्रामा "मेरो बाबुलाई निकाली देऊ,
खोई मेरो बाबु !" भन्दै रूँदै चिच्याउँदै गरेकी हुन्छिन् । सन्ते पनि खुट्टा
खोच्याउँदै सैनिक जवानहरू समक्ष हात जोडेर अनुरोध गरिरहेको हुन्छ । एकातिर
बुढाबुढी, अपाङ्गहरू अर्कोतिर बच्चाहरू तितरबितर अवस्थामा हुन्छन् ।
# नेपाली सेनाका जवानहरू कोही भत्केको घरको इँटा
फालिरहेका हुन्छन्, कोही भत्केको ठाउँबाट काठहरू झिकिरहेका हुन्छन् । कमल पराजुली
ब्रेकर मेशिनले ढलान फोडिरहेको हुन्छ । महिला स्वयं सेविकाहरू अस्थायी बसोबासका
लागि पाल टाङ्दै हुन्छन्, बाँसका तहराहरू बनाई रहेका हुन्छन् । कसैले औषधि खानेकुराहरू
बितरण गरिरहेका हुन्छन् ।
# लामो समय पछि
ब्रेकर मेशिनले ढलान प्वाल पारेर कमल कम्मरमा डोरी बाँधेर, टाउकोमा टर्च लाइट सहितको हेलमेट लगाएर भित्र प्रवेश गर्छ । अन्य सेनाका जवानहरू डोरी समाई रहेका
हुन्छन् । उत्सुक मुद्रामा स्वयं सेविका लगायत बस्तीका मानिसहरूको भीडले हेरिरहेका
हुन्छन् ।
# कमल अँध्यारोमा टर्च लाइट बाल्दै जाँदा एउटा
कोक्रो देख्छ । त्यसपछि कोक्रोबाट बच्चा निकालेर बाहिर डोरी तान्ने ईशारा गरेपछि
माथिबाट सैनिक जवानहरू बिस्तारै डोरी तान्छन् । केही बेर मै कमल धुलैधुलो अवस्था
बच्चा च्यापेर प्वालबाट निकाल्ने कोशिस गर्छ । अन्य सैनिकहरूले कमललाई हातले
समातेर तान्छन् ।
# सबैले कमललाई घेर्छन् । उसले समातेर ल्याएको न्यानो काने टोपी, ढाकाका भोटो लगाएको धुलैधुलो
अवस्थामा रहेको बच्चालाई सजिलो पाराले छातीमा लिन्छ । स्वयं सेविका करूणाले
धुलैधुलो भएको बच्चाको अनुहारलाई चिसो रूमालले पुछी दिन्छिन् । बच्चाको गालामा भएको
नीलो चिनु प्रष्ट देखिन्छ । कमल बच्चालाई माथि उठाएर सबैलाई देखाउँछ । त्यसै
बेला बच्चाले आवाज निकालेर रून्छ । बच्चाकी आमा रूँदै "मेरो बाबु ! मेरो बाबु !!" भन्दै झम्टिन्छिन् । स्वयं सेविकाहरू तिनलाई सम्हाल्छन् । अनायसै कमलको आँखाबाट पनि आँशु बग्न सुरु गर्छ । सबैले आँखा पुछ्छन्
।
# सैनिक जवानहरू कमल पराजुलीलाई सलाम ठोक्छन् ।
त्यस पछि सन्तेले हात निधारमा लगेर सलाम गर्छ । लहै लहैमा भीडका सबै जनमानसले हात निधारमा
लगेर सलाम गर्छन् ।
जब, कमलले हातमा लिएको
बच्चा रून छाडेर आफ्नो आँखा खोल्छ.....।
(पृष्ठभूमिमा, पहिलो
दृश्यमा भएको आमाले काखमा लिएर दुध चुसाउँदै गरेको दृश्य, बच्चा निदाए पछि आमाले
बच्चालाई कोक्रोमा सुताउँदै गरेको दृश्य अनि बच्चा मस्त निदाई रहेको झलक ।)
समाप्त !



0 comments