Sunday, September 4, 2016

*माइला बाउले राखेको रेकर्ड तोड्न उत्सुक म*



मैले ४ वर्ष लाग्दा आमाले र ८ वर्ष पुग्दा बाउले संसार त्याग्नुभएको । मेरो तीन भार्इ बाउहरू, अलग अलग स्वभावका । जेठा बाउ अलि कलाकारी व्यक्ति नाँचगानमा हुरूक्कै हुने समाजमा उनको छाप अलग्लै, माइला बाउ भने एउटा लाटो सोझो गोठालो अनि कान्छा बाउ मेरो बाउ अलि भलादमी, अख्यानकारका रूपमा सामाजमा स्थापित व्यक्ति ।
माइला बाउ आफ्ना दुर्इ दार्इ भार्इ भन्दा भिन्न । जीउडाल पनि ठूलो र अग्लो । अझ भनु तत्कालीन समाजमा उनको शारीरिक बनौट पहिलो नंबरमा रे ।
म चार पाँच वर्षको छँदाको कुरा, माइला बाउ हाम्रो घर भन्दा केही तल लाकुरीबास भन्ने ठाउँको गोठमा गार्इहरू पालेर बस्नु नै उनको जीवन चर्या । उहाँले एक दुर्इ दिनको लागि अन्त कतै जानु परेकोले गोठको जिम्मा मेरो ठूलो दाजुको । म पनि दाजुको पछि पछि गोठतिरको यात्रामा । गोठमा पुगेपछि दार्इ गोबर सोत्तर तिर, मेरो ध्यान भने अर्कैतिर । गोठको एक कुनामा माइला बाउको बिस्तरा नजिकै छालाको थोत्रो भलिबलको अधा भाग किल्लामा झुण्डिएको । यही नै मेरो केन्द्र विन्दु ।
मैले यो देख्ने बित्तिकै सानो लौरोले घोच्दै "दार्इ यो के फुर्बल है ?"  ठूलो दाजुः "यो त मार्इला बाउको टोपी नि !"  हैन हाम्रो मार्इला बाउलार्इ कस्ले पो किन्दियो होला यस्तो फुर्बलको टोपी ! मेरो उत्सुकताले जरा गाडे पछि दाजुः "सुन्छस् यसको कथा ?"  टाउको हल्लाएर र्इच्छा जनाए मैले । दाजुः " हाम्रो परको स्कूल छ नि ! त्यहाँ हाम्रो गामका ठूला बडाहरूले थुप्रै किसिमको खेलहरू खेलाए रे तेति खेर मलायाका लाउरेहरूले ल्याएका छालाको फुटबललार्इ खुट्टाले हानेर जस्ले टाढा पुर्याउँछ तेसले कति कति ... र्इनाम पाउने भए पछि तेस बेलाको बलियो र ठूलो हाम्रो मार्इला बाउ । उनको पालो आए पछि खुट्टाले हानेर एकाएक पुर्यार्इदिएछन् उः तो पारि गुङगुङ सुबदारको आँगनमा ।"
दाजुः " यति मात्रै हैन त्यहाँ आँगनमा भएको कुखुरालार्इ पनि मारिदिएको रे । उहाँले बिजय पाए पछि र्इनामको साथ तो फुटबल पनि उनैलार्इ नै दिएको रे । मार्इला बाउले तेसलार्इ बीचबाट छुराले काटेर दुर्इटा टोपी बनाएको रे .......।"
म ट्वाल्ल... !  मार्इला बाउको महानताको सपना बुन्दै ।
जब म स्कूल जान थाल्छु स्कूलको ग्राउण्डमा उभिएर मार्इला बाउले रचेको बहादुरीको कथा दृश्यवत सल्बलाउन थाल्छ मानसपटलमा दैनन्दिन । समय बिते पनि  बखत बखत बिउँझार्इरहन्छ त्यस खेल मैदानले आज पर्यन्त। मार्इला बाउले त त्यो पारि मात्र म ठूलो भए सि अझ त्यो कोसौं पारिको क्षितिजलार्इ नघाउने मेरो अभिलाषा ।
मेरो ठूलो दाजुले भनेको मार्इला बाउको काल्पनिक कथालार्इ झुठो साबित गर्न कहिल्यै मानेन मेरो कलिलो बाल मस्तिष्कमा परेको मनोबैज्ञानिक छापले ।
..............मृग तृष्णामा बाँचिरहेछ रहर !!!







JOURNEY