Wednesday, April 20, 2016

मेरो पुर्खाको तालुमा फर्सी जत्रो आलु


 म यस्तो पहलमान पुर्खाको सन्तान हूँ जसले तोरीका दानाहरूलार्इ पसरमा लिएर चर्याप्प निचोर्दै तात्तातो तेलले दिनहुँ सुत्ने बेलामा जीउ मालिस गर्ने गर्थे । जंगलमा रूखहरूका टुप्पो* टुप्पो* भैंसी चराउने बहादुर गोठालाहरू, भोगटे जत्रा नौनीका डल्लाहरूले एक पक्षले अर्को पक्षलार्इ हानाहान गरेर रमाइलो गरी महोत्सव मनाउने । तिनै भैंसी गोठालाहरूको सन्तान म ।
एक जमानामा मेरा पुर्खाहरूको प्रख्यातिको नाम तिब्बतसम्म फैलिएको रहेछ । उतिबेला एउटा यस्तो महोत्सवको आयोजना भएछ कि जहाँ तिब्बतमा कहलिएका पहलमान भोटेहरू र मेरा पहलमान पुर्खाहरू बीच कुस्ती भिड्ने । विजयी हुनेले ठूलो इनाम जित्ने प्रस्तावमा सहमति भएछ । तिब्बती कुस्ती बाजहरूको साम्ने हाम्रा मुढेबलले नाम कमाएका बिचरा पुर्खाहरूको हरिबिजोग हुने निश्चितप्रायः थियो । यस्तो थाहा हुँदाहँदै पनि उनीहरू बीच भिड्न कत्ती नहिच्किचाएका मेरा साहसी पुर्खाका नार्इके आफ्नो मांसपेशीले बटारिएका पाखुराहरू सुर्कँदै भित्ता जस्तो छाती पिट्दै अघि बढेछन् । उताबाट तिब्बती पहलमानका नाइके आफ्नो हातले तिघ्रा (साप्रा) पिट्दै अघि बढेछ । दुबै पक्षका रमितेहरू चिच्याउँदै ताली पिट्दै गर्न थालेछन् । वातावरण उत्तेजित बन्दै थियो ......
भिडन्त हेर्न उत्सुक रमितेहरू माझ एकाएक मौनता छाएछ, सबै जिल्ल पर्न थालेछन् । जतिखेर ती तिब्बती पहमानले अफ्ना पक्षका सबैलार्इ “भाग भैरे भाग” भन्दै कुलेलम ठोक्न थालेछन्, हो यतिखेर हाम्रा पहलमान पुर्खाका नार्इकेबाट यस्तो चमत्कारिता प्रदर्शन भएको रहेछ कि उनले छाती पिट्दै पाखुरा सुर्कदैँ आफ्ना हात्ती पार्इले मुठ्ठी कसेर पहिलो चोटी कान्लामा बजार्दा कुमसम्म पूरै हात कान्लो भित्र धसार्इ दिएछन् । यस्तो अवस्था देखेपछि प्रतिपक्षको भाग दौड मच्चिएको रहेछ । उनीहरूलार्इ लाग्दो हो त्यसरी जमिनमा हान्दा त हात पूरै धसाउन सक्नेले हामी जाबोलार्इ त एक छोप लगाउँदैन भनेर । वास्तविकता अर्कै रहेछ त्यस कान्लोको भित्रभित्रै मुसाले दुलो पारेको रहेछ ।
संयोगवशः त्यही ठाउँ मै मुठ्ठी बज्रिनुले मेरा भाग्यमानी पुर्खाको तालुमा फर्सी जत्रो आलु फल्न सफल भएको रहेछ ।

No comments:

Post a Comment

JOURNEY